स्याङ्जा, अक्टोबर १, २०२६ — स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरकी ३४ वर्षीया शान्ती सिग्देललाई बुधबार बिहान करिब ८ बजे फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेको थियो।
करेन्ट लागेर घाइते भएकी सिग्देललाई उपचारका लागि आँधीखोला गाउँपालिका–१ स्थित पञ्चमूल प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो। त्यहाँ उपचारपछि थप उपचारका लागि गण्डकी अस्पताल, पोखरा पठाइएकी उनलाई चिकित्सकले दिउँसो मृत घोषणा गरेका थिए।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।






