गुल्मी, सेप्टेम्बर १३, २०२६ — गुल्मीमा जंगली जनावर धपाउन बारीमा नांगो तारमा छोडिएको करेन्टमा परेर एक महिलाको मृत्यु भएको छ।
मदाने गाउँपालिका–१ ओख्लेदहमा सन्तबहादुर बिष्टले जंगली जनावर धपाउन आफ्नो बारीमा नांगो तारमा करेन्ट लगाएका थिए। सोही करेन्टमा परेर मदाने गाउँपालिका–४ की ४८ वर्षीया डालकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माले जानकारी दिए।
खत्री नातीसहित भतिजीको घर ओख्लेदह गएकी थिइन्। पछि उनी सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि प्रहरीलाई खबर गरेको थियो।
खोजीका क्रममा खत्री करेन्ट लागेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलमा मुचुल्का उठाएर खत्रीको शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल पठाएको छ।






