स्याङ्जा, सेप्टेम्बर १७, २०२६ — स्याङ्जाको साविक छाङछाङदी गाविसमा १८ वर्षअघि गर्भवती महिलाको मृत्यु भएको घटनासम्बन्धी कर्तव्य ज्यान मुद्दामा एक जना प्रतिवादी पुर्पक्षका लागि थुनामा गएकी छन् भने अर्की ७५ हजार रुपैयाँ धरौटीमा छुटेकी छन्।
साविक छाङछाङदी गाविस–६ की सञ्जु लामिछाने रेग्मीको २०६५ असोज ३ गते गर्भवती अवस्थामा मृत्यु भएको घटनालाई लिएर कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको थियो।
प्रहरीका अनुसार सञ्जुका श्रीमान् कृष्णप्रसाद रेग्मी र शान्तिदेवी भण्डारीसहितले पूर्वयोजना बनाई सुई तथा औषधि खुवाएर उनको मृत्यु गराएको भन्ने जाहेरी तथा घटनासम्बन्धी विवरणका आधारमा अनुसन्धान अघि बढाइएको हो।
अनुसन्धान पूरा भएपछि मुद्दाका प्रतिवादीमध्ये छाङछाङदी बस्ने शान्ती भण्डारी र पार्वती भण्डारीलाई प्रहरीले २०८३ भदौ ४ गते स्याङ्जा जिल्ला अदालतमा पेस गरेको थियो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार अदालतले भदौ ५ गते शान्ती भण्डारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।






