बाजुरा, अक्टोबर ५, २०२६ — बाजुराको बुढीगंगा नगरपालिका–२ मा विद्युत्को पोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बुढीगंगा नगरपालिका–२ परिवनका करिब ४२ वर्षीय धनबहादुर केसी रहेका छन्।
प्रहरीका अनुसार बुधबार घरबाट बाहिरिएका केसी साँझसम्म घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए। खोजीका क्रममा उनलाई सोही वडास्थित परिवन सामुदायिक वनभित्र गाडिएको केन्द्रीय विद्युत् लाइनको पोलमा करेन्ट लागेर घटनास्थलमै मृत अवस्थामा फेला पारिएको थियो।
स्थानीयले बुधबार राति करिब ९ः५० बजे जिल्ला प्रहरी कार्यालय बाजुरामा घटनाबारे जानकारी गराएका थिए। त्यसपछि अस्थायी प्रहरी बेस क्याम्प बल्देबाट प्रहरी सहायक हवल्दार रतनबहादुर साउदको कमाण्डमा चार जनाको टोली घटनास्थल पुगेको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






