स्याङ्जा, सेप्टेम्बर १५, २०२६ — स्याङ्जाको वालिङमा आँधीखोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएकी ५३ वर्षीया महिला मृत अवस्थामा फेला परेकी छन्।
वालिङ नगरपालिका–९ भुम्रेकी माया पाण्डे मंगलबार बिहान स्थानीय आँधीखोलामा नुहाउने क्रममा खोलाले बगाएपछि बेपत्ता भएकी थिइन्।
घटनाबारे जानकारी पाएलगत्तै वडा प्रहरी कार्यालय वालिङ र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गुल्म हेडक्वार्टर वालिङबाट संयुक्त टोली खोजीमा परिचालन गरिएको थियो।
खोजीका क्रममा पाण्डे बेपत्ता भएको स्थानबाट करिब चार किलोमिटर तल वालिङ नगरपालिका–१३ शान्तिघाटस्थित आँधीखोलामा ढुंगामा अड्किएको अवस्थामा उनको शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार सुरक्षाकर्मीको टोलीले शव निकालेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ।






