धनगढी, अक्टोबर ६, २०२६ — कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा घरको छतमा जन्मदिन मनाउने क्रममा चट्याङ लाग्दा ७ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय खुसीलाल चौधरीको घरको छतमा उनीहरू जन्मदिन मनाइरहेका बेला गएराति घरनजिकै चट्याङ परेको थियो। चट्याङ लागेपछि उनीहरू घाइते भएका हुन्।
घाइते हुनेमा ३५ वर्षीया आरती चौधरी, १७ वर्षीया आयुसरा चौधरी, १३ वर्षीया सृष्टि चौधरी, ५५ वर्षीया बागमती चौधरी, ७ वर्षीय शिशिर चौधरी, १४ वर्षीया रेणुका चौधरी र ३५ वर्षीया जानकी चौधरी रहेका छन्।
सबै घाइतेलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको छ।
कैलाली जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी योगेन्द्र तिमिल्सिनाका अनुसार अस्पतालमा उपचाररत सबैको अवस्था स्थिर रहेको छ।






