कैलाली, सेप्टेम्बर २५, २०२६ — कैलालीको लम्कीचुहामा दीपक सुनारको हत्या गरेको आरोपमा पक्राउ परेकी उनकी श्रीमती यमुना विक सुनारसहित पाँचै जना प्रतिवादीलाई कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ।
न्यायाधीश इन्द्रबहादुर कठायतले यमुना विक सुनार, दुर्योधन सुवर्णकार, राम राजेश महतो, वीरेन्द्र राना र भीमराज रानालाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ को उपदफा (१) को देहाय (क) बमोजिम थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएका हुन्।
कैलाली जिल्ला अदालतका श्रेस्तेदार उपसचिव तेजराज पन्तका अनुसार अदालतको आदेशअनुसार पाँचै जना प्रतिवादीलाई पुर्पक्षका लागि कारागार पठाइएको छ।
अदालतको आदेशमा पाँचै जनाविरुद्ध पूर्वयोजना बनाएर दीपक सुनारको हत्या गरी शव बेपत्ता पारेको आरोपमा किटानी जाहेरी परेको उल्लेख छ। उक्त जाहेरीलाई समर्थन गर्ने बरामद तथा खानतलासी मुचुल्का, घटनास्थल लास जाँच मुचुल्का, सर्जमिन मुचुल्का, कलडिटेल तथा लोकेसन विवरणसमेत मिसिलमा संलग्न रहेको अदालतले जनाएको छ।
अनुसन्धानका क्रममा प्रतिवादीहरूले दिएको बयानअनुसार यमुना र दुर्योधनबीचको सम्बन्ध तथा दीपकसँगको विवादपछि हत्या योजना बनेको आरोप छ। बयानअनुसार यमुनाले पूजा गर्ने बहानामा दीपकलाई अमरावती जंगलमा लगेको र त्यहाँ अन्य प्रतिवादीहरूले हतियार प्रहार गरी हत्या गरेको आरोप लगाइएको छ।






