सोलुखुम्बु, नोभेम्बर २२, २०२६ — हिउँदको चिसो बढ्दै गएपछि सगरमाथा क्षेत्रबाट हवाई मार्ग हुँदै बाहिरिने पर्यटकको सङ्ख्या बढेको छ। पछिल्लो सात दिनमा खुम्बु भित्रिनेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या दोब्बरभन्दा बढी रहेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ।
प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा हवाई मार्गबाट एक हजार १८० पर्यटक खुम्बुबाट बाहिरिएका छन् भने ५२९ जना भित्रिएका छन्। भित्रिनेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या ६५१ ले बढी छ। यसले शरद् पर्यटन सिजन क्रमशः अन्त्यतिर पुगेको सङ्केत गरेको छ।






