कैलाली, अक्टोबर २, २०२६ — कैलालीको गौरीगंगा नगरपालिका–६ स्थित सामुदायिक वनमा शुक्रबार बिहान च्याउ टिप्ने क्रममा बाघको आक्रमणबाट ४० वर्षीय पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेमा गौरीगंगा नगरपालिका–६ चरिडाँडाका कृष्ण चौधरी रहेका छन्।
इलाका प्रहरी कार्यालय चौमालाका प्रहरी सहायक निरीक्षक रमेशबहादुर शाहीका अनुसार चौधरी अन्य दुई जनासँगै च्याउ टिप्न गौरीगंगा–६ मोयास्थित भैरव महिला सामुदायिक वनमा गएका थिए। च्याउ टिपिरहेको अवस्थामा बाघले चौधरीमाथि आक्रमण गरेको थियो।
उनीसँगै गएका अन्य दुई जना भने बाघको आक्रमणबाट जोगिन सफल भएका थिए।
शाहीका अनुसार बाघको आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।






