कञ्चनपुर, नोभेम्बर १, २०२६ — महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत ५ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउन आवश्यक पूर्वाधार तयार भए पनि भारतले टनकपुर ब्यारेजबाट पानी नछोड्दा किसानले सिँचाइ सुविधा पाउन सकेका छैनन्।
शुक्लाफाँटा नगरपालिकाको ब्रह्मदेवदेखि फुलेलीसम्म फैलिएको २८ किलोमिटर लामो मूल नहर केही वर्षअघि नै निर्माण सम्पन्न भएको थियो। मूल नहरबाट खेतसम्म पानी पुर्याउन प्रस्ताव गरिएका २२ शाखा नहरमध्ये १४ वटा निर्माण सकिएका छन् भने बाँकी आठवटाको काम अन्तिम चरणमा पुगेको छ।






