कञ्चनपुर, अक्टोबर १३, २०२६ — कञ्चनपुरमा एक किशोरलाई जंगलमा लगेर धारिलो हतियार देखाउँदै धाकधम्की दिई कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
बेलौरी नगरपालिका–९, रतनपुरका १६ वर्षीय किशोरलाई अपहरण गरी जंगलमा पुर्याएर कुटपिट तथा यातना दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतका अनुसार पक्राउ पर्नेमा बेलौरी नगरपालिका–९ का २१ वर्षीय आशिष बिष्ट, १९ वर्षीय दिलिप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवा छन्।
रावतका अनुसार उनीहरूले असोज २३ गते साँझ ती किशोरलाई स्थानीय खजुवा जंगलमा पुर्याएर खुकुरी देखाउँदै धाकधम्की दिनुका साथै कुटपिट गरेका थिए।
प्रहरीका अनुसार उनीहरूविरुद्ध अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा अपमानजनक अमानवीय व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ।






