कञ्चनपुर, अक्टोबर १५, २०२६ — दशैं र तिहार मनाउन भारतबाट घर फर्किरहेका नेपालीको कञ्चनपुरस्थित गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ। चाडपर्वका बेला सीमा क्षेत्रमा यात्रुको चाप बढ्ने भएकाले संक्रामक रोगको फैलावट रोक्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।
सरकारले नाकामा स्वास्थ्य परीक्षण केन्द्र स्थापना गरी मलेरिया, क्षयरोग, एचआईभी, कोभिड–१९, डेंगु र स्क्रब टाइफस गरी छ प्रकारका रोगको परीक्षण गरिरहेको छ। सीमा पार गर्ने यात्रुमध्ये सम्भावित संक्रमितको पहिचान गरी समयमै आवश्यक कदम चाल्नु यसको उद्देश्य रहेको छ।
कञ्चनपुर जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले भारतबाट फर्किने नेपालीमा देखिन सक्ने स्वास्थ्य समस्या पहिचान गर्न र रोग फैलिन नदिन सीमा क्षेत्रमा परीक्षणको व्यवस्था गरिएको बताए।
“संक्रमण पुष्टि भएका व्यक्तिलाई स्वास्थ्य संस्थामा पठाएर निःशुल्क उपचार गरिन्छ,” भट्टले भने।
स्वास्थ्य कार्यालयको प्रक्रियाअनुसार मलेरिया र डेंगुजस्ता सरुवा रोगको संक्रमण बढी देखिने भारतीय क्षेत्रबाट आउने यात्रु तथा भाइरसको सम्पर्कमा आएको सम्भावना भएका व्यक्तिको परीक्षण गरिन्छ।






