काठमाडौं, २२ अगस्ट २०२६ — बलात्कारपछि हत्या गरिएकी ३ वर्षीया गरिमा चौधरीका लागि न्याय सुनिश्चित गर्नु सरकारको पहिलो प्राथमिकता रहेको गृहमन्त्री सुदन गुरुङले बताएका छन्।
गृहमन्त्री गुरुङले शनिबार सामाजिक सञ्जालमार्फत घटनाको दिनदेखि नै सरकारले मुद्दालाई गम्भीरतापूर्वक लिएको र निष्पक्ष तथा प्रभावकारी ढंगले अनुसन्धान भइरहेको बताएका हुन्।
उनका अनुसार घटनामा संलग्न भएको आशंकामा रहेका व्यक्तिहरूलाई तत्काल पक्राउ गरिएको छ। घटनाको प्रारम्भिक चरणमा प्रहरीबाट लापरबाही भएको हुन सक्ने भन्दै उठेका प्रश्नपछि केही प्रहरी अधिकारीमाथिसमेत अनुसन्धान अघि बढाइएको उनले बताए।
घटनामा संलग्नलाई मृत्युदण्ड दिनुपर्ने मागबारे गृहमन्त्री गुरुङले जनआक्रोश आफूले बुझेको बताए। तर नेपालको संविधानको धारा १६(२) ले मृत्युदण्ड दिने गरी कानुन बनाउन निषेध गरेको उनले स्मरण गराए।
उनले सरकारको जिम्मेवारी बलियो र निष्पक्ष अनुसन्धान गर्ने, दोषीलाई कानुनी कारबाहीबाट उम्कन नदिने तथा निर्दोष व्यक्तिलाई गलत अभियोजनबाट जोगाउने रहेको बताए।






