काठमाडौं, २३ अगस्ट २०२६ — काठमाडौंमा २२ वर्षीय छोराको हत्या भएको खबर सुनेपछि दाङकी ३८ वर्षीया आमाको मृत्यु भएको छ।
शुक्रबार काठमाडौंको शंखमूलमा धारिलो हतियार प्रहार गरी २२ वर्षीय बसन्त कलाखेतीको हत्या भएको थियो। काठमाडौं महानगरपालिका–१० स्थित भ्याली ब्वाइज होस्टेलमा बस्दै आएका बसन्त दाङको घोराही उपमहानगरपालिका–१७ का स्थानीय थिए।
बसन्तको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले बाराको कलैया उपमहानगरपालिका–३ का प्रमित पटेल र सोही स्थानका शेखर यादवलाई पक्राउ गरेको छ। घटनाबारे नयाँ बानेश्वर प्रहरी वृत्तले अनुसन्धान गरिरहेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा. हेम केसीका अनुसार छोराको हत्या भएको खबर पाएपछि बसन्तकी आमा ३८ वर्षीया बिना कलाथोकीले घरमा पंखामा झुन्डिएर आत्महत्या गरेकी थिइन्। उनको शव परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।
बिनाका श्रीमान् वैदेशिक रोजगारीका क्रममा खाडी मुलुकमा रहेका छन्।






