बारा, २ भदौ २०८३ — बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ बाट तीन दिनदेखि बेपत्ता तीन वर्षीया गरिमा चौधरी मंगलबार साँझ भक्तिटोलस्थित खाली घरमा मृत फेला परेकी छन्।
मनोज चौधरी र मनमती चौधरीकी छोरी गरिमा आइतबार बिहान करिब साढे ८ बजेदेखि बेपत्ता थिइन्। बस्तीबाट हराएपछि परिवार र प्रहरीले उनको खोजी गरिरहेका थिए।
गरिमाको शव फेला परेको घर करिब पाँच महिनादेखि खाली रहेको र उनको घरबाट करिब १५० मिटर दक्षिणतर्फ रहेको प्रहरीले जनाएको छ।
मंगलबार स्थानीय बासिन्दाले उक्त घरबाट दुर्गन्ध आएको थाहा पाएपछि झ्यालबाट भित्र हेरेका थिए। घरको ढोका खुलै रहेको अवस्थामा भित्र शव देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार गरिमा घरभित्र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन्। उनको भित्री वस्त्रसहितका कपडासमेत सोही घरभित्र फेला परेका छन्। उनको शरीरमा चोटपटकसमेत देखिएको प्रहरीले जनाएको छ।






