फुकुओका, जापान, अगस्ट २०, २०२६ — जापानको फुकुओका शहरमा २५ वर्षीया नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको शव नदीमा फेला परेपछि प्रहरीले घटनालाई हत्या प्रकरणका रूपमा अनुसन्धान अघि बढाएको छ।
राजवंशी फुकुओका महानगरको चुओ वार्डमा बस्दै आएकी नेपाली नागरिक थिइन् र स्थानीय व्यावसायिक विद्यालयमा अध्ययनरत थिइन्। जापानी सञ्चारमाध्यमका अनुसार उनी मे २०२३ मा विद्यार्थी भिसामा जापान पुगेकी थिइन् र पढाइसँगै पार्टटाइम काम गर्दै आएकी थिइन्।
अगस्ट १९ को बिहान करिब ५:४५ बजे फुकुओकाको तेन्जिन क्षेत्रमा रहेको नाकागावा नदीमा एक महिलाको शव पानीमा घोप्टो परेको अवस्थामा तैरिरहेको एक पैदलयात्रीले देखेका थिए। त्यसपछि प्रहरी र दमकलकर्मी घटनास्थलमा पुगेर शवलाई नदीबाट बाहिर निकालेका थिए। तर उनको घटनास्थलमै मृत्यु भइसकेको पुष्टि गरिएको थियो। उनी टी–सर्ट र छोटो पाइन्ट लगाएको अवस्थामा फेला परेकी थिइन्।
राजवंशीको निधारमा चोट देखिएपछि प्रहरीले सुरुमा दुर्घटना भएको हो वा कसैले आक्रमण गरेको हो भन्ने दुवै कोणबाट अनुसन्धान थालेको थियो। पोस्टमार्टमका क्रममा उनको टाउको र अनुहारमा कडा वस्तुले प्रहार गरेको हुन सक्ने किसिमका धेरै चोट तथा शरीरका अन्य भाग र हातमा समेत चोटपटक भेटिएको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले घटनालाई हत्या भएको निष्कर्षसहित अनुसन्धान अघि बढाएको हो। यद्यपि, उनको मृत्युको ठ्याक्कै कारण भने अझै निर्धारण भइसकेको छैन।
अनुसन्धानका क्रममा राजवंशी बस्दै आएको घरमा रगतका दागसमेत फेला परेका छन्। प्रहरीले त्यहाँ उनी र अन्य कुनै व्यक्तिबीच संघर्ष भएको हुन सक्ने सम्भावनाबारे पनि अनुसन्धान गरिरहेको छ। जापानी सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार राजवंशी अगस्ट १८ को राति करिब १०:३० बजे पार्टटाइम कामबाट निस्किएकी थिइन्।






