फुकुओका, जापान, सेप्टेम्बर ९, २०२६ — जापानको फुकुओकास्थित तेनजिन क्षेत्रमा रहेको नदीमा गत महिना मृत अवस्थामा भेटिएकी २५ वर्षीया नेपाली व्यावसायिक विद्यालयकी छात्रा लक्ष्मी राजवंशीको हत्या प्रकरणमा तीन नेपाली नागरिक पक्राउ परेका छन्।
जापानी प्रहरीले मंगलबार फुकुओकामा अध्ययनरत २८ वर्षीय सञ्जु तामाङ, सागा प्रान्तको तोसुमा बस्दै आएकी २५ वर्षीया अस्मिता तामाङ र सोही क्षेत्रमा बस्ने २२ वर्षीय अन्तर्राष्ट्रिय विद्यार्थी प्रवीण लामालाई पक्राउ गरेको जनाएको छ।
मृतक लक्ष्मी राजवंशी फुकुओकामा बस्दै व्यावसायिक विद्यालयमा अध्ययनरत थिइन्। उनी करिब सन् २०२३ को मे महिनामा विद्यार्थी भिसामा जापान पुगेकी थिइन्।
प्रहरीका अनुसार अगस्ट १८ को राति करिब ११ः३० बजेदेखि भोलिपल्ट अगस्ट १९ को राति १२ः१५ बजेसम्मको अवधिमा राजवंशीमाथि उनको फुकुओकास्थित निवासमा आक्रमण भएको थियो।
अनुसन्धानबाट राजवंशीको टाउकोमा भाँडाले प्रहार गरिएको र डोरीले घाँटी थिचिएको देखिएको प्रहरीले जनाएको छ। त्यसपछि उनी तेस्रो तलाको बालकनीबाट नदीमा खसेकी र डुबेर मृत्यु भएको अनुसन्धानबाट खुलेको छ।






