गुल्मी, अक्टोबर १५, २०२६ — गुल्मीको मालिका गाउँपालिका–२ खोलाखर्कमा देवरको कुटपिटबाट गम्भीर घाइते भएकी ४१ वा ४२ वर्षीया महिलाको तीन दिनपछि मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भीमकीरण बोगटीका अनुसार मृत्यु हुनेमा खोलाखर्ककी लिला खत्री रहेकी छन्। घटनामा उनको टाउकोमा चोट लागेको थियो।
प्रहरीका अनुसार असोज २५ गते साँझ मादक पदार्थ सेवन गरेर आएका ४६ वर्षीय बलबहादुर खत्रीले आफ्नै भाउजू लिलामाथि कुटपिट गरेका थिए।
घटनाबारे सोही दिन साँझ करिब ७ः३० बजे प्रहरी चौकी पौदीअमराईमा जानकारी पुगेपछि प्रहरी सहायक निरीक्षक उदयभान यादवको कमान्डमा तीन जनाको टोली घटनास्थल पुगेको थियो। प्रहरीले गम्भीर घाइते लिलालाई उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाएको थियो।
घटनापछि प्रहरीले बलबहादुर र उनका ७६ वर्षीय बुबा भक्तबहादुर खत्रीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धानमा कुटपिटमा बलबहादुर संलग्न रहेको खुलेपछि उनका बुबालाई छाडिएको थियो भने बलबहादुरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मी पठाइएको थियो।






