काठमाडौं, अक्टोबर १५, २०२६ — नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले सरकारले सिफारिस गरेका साउदी अरब र मलेसियाका राजदूत अस्वीकार गर्ने संसदीय सुनुवाइ समितिको निर्णयको प्रशंसा गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बाँस्कोटाले संसद्ले अन्ततः आफ्नो अधिकार प्रयोग गरेको र आफूले ‘ग्रे जोन’ भनेको अवस्थाबाट बाहिर निस्किएको बताएका छन्।
समितिले बुधबार साउदी अरब र मलेसियाका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत रूपमा अस्वीकार गरेको थियो। साथै, जापानका लागि प्रस्तावित राजदूतको नाम भने तत्काल अघि नबढाउने निर्णय गरेको थियो।
यस निर्णयबारे टिप्पणी गर्दै बाँस्कोटाले सरकारको एकल सिफारिसलाई रोक्नु सहज काम नभएको बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “सरकारको एकल सिफारिस तोड्नु सजिलो थिएन। सायद दबाब थिएन कि? यो ब्रेक प्रशंसनीय छ।”






