काठमाडौं, अक्टोबर ३, २०२६ — म्याद गुज्रिएका खाद्यान्नमा नयाँ मिति र नक्कली लेबल लगाएर बिक्री वितरण गरिरहेको आरोपमा प्रहरीले काठमाडौंमा दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका–१ घर भई हाल काठमाडौंको तिनथाना बस्ने ४० वर्षीय विजेन्द्र साह र पर्सा बिन्दावासिनी गाउँपालिका–२ घर भई हाल तिनथाना नै बस्ने ४९ वर्षीय अखिलेस प्रसाद कलवार रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौं र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले चन्द्रागिरि नगरपालिका–१५, तिनथानास्थित सिद्धिविनायक खाद्य स्टोरमा स्थलगत अनुगमन गर्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार अनुगमनका क्रममा उनीहरू म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राखेर रि-लेबलिङ गरिरहेको अवस्थामा फेला परेका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जानकारी दिए।






