काठमाडौं, सेप्टेम्बर १५, २०२६ — अवैध रूपमा विद्युतीय चुरोट (भेप) भण्डारण तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौं महानगरपालिका–७ चाबहिल बस्ने ४५ वर्षीय पूर्णलाल श्रेष्ठ, चन्द्रागिरि नगरपालिका–१६ सतुङ्गल बस्ने २७ वर्षीय शुभम गुप्ता, रामेछाप घर भई काठमाडौं महानगरपालिका–३ बस्ने १९ वर्षीय राजन मोक्तान र काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ घर भई ललितपुरको च्यासल बस्ने १९ वर्षीय सक्षम श्रेष्ठ रहेका छन्।
काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा विद्युतीय चुरोट (भेप) अवैध रूपमा भण्डारण तथा बिक्री वितरण भइरहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले काठमाडौं महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र काठमाडौं महानगरपालिका–६ चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाममा खोजतलास गर्दा २ हजार ७ सय ७० थान विद्युतीय चुरोट (भेप) फेला पारेको जनाएको छ।
बरामद भेपसँग सम्बन्धित अनुसन्धानका क्रममा प्रहरीले चारै जनालाई पक्राउ गरेको हो।






