काठमाडौं, सेप्टेम्बर १५, २०२६ — नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ बैंकिङ कसुरसम्बन्धी मुद्दामा सोमबार काठमाडौंमा पक्राउ परेका छन्।
बाढी प्रभावित क्षेत्रका समस्याबारे प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न तामाङ काठमाडौं आएका थिए। उनी सिंहदरबारमा बिहान ११ बजेदेखि दिउँसो करिब २:३० बजेसम्म भएको छलफलमा सहभागी भएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार छलफल सकेर सिंहदरबारबाट बाहिरिएपछि दरबारमार्ग प्रहरी वृत्तको टोलीले तामाङलाई पक्राउ गरेको हो।
तामाङविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दा अदालतमा दायर भएको देखिएपछि उनलाई पक्राउ गरिएको एसपी थापाले बताए। उनका अनुसार सिंहदरबार बाहिर हनुमानस्थानमा भेटिएका तामाङलाई अदालतमा उपस्थित गराउने प्रयोजनका लागि प्रहरीले नियन्त्रणमा लिएको हो।
“उहाँविरुद्ध अदालतमा बैंकिङ कसुरको मुद्दा परेको रहेछ। सिंहदरबारबाहिर हनुमानस्थानमा भेटिएपछि अदालतमा उपस्थित गराउने प्रयोजनका लागि नियन्त्रणमा लिइएको हो,” थापाले भने।






