काठमाडौँ, अक्टोबर ६, २०२६ — प्रहरीले काठमाडौँ र सिन्धुलीबाट भालुको पित्त र हात्तीको दाह्रा जस्तो देखिने वन्यजन्तुको आखेटोपहारसहित तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टेबाट करिब १४० ग्राम तौलको भालुको पित्त जस्तो देखिने एक थान आखेटोपहारसहित ३१ वर्षीय योगेन्द्र प्रसाद चौधरी आइतबार पक्राउ परेका प्रहरीले जनाएको छ।
चौधरी नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–१ सिसनियाका बासिन्दा रहेको प्रहरीले जनाएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) बाट खटिएको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौँ पठाइएको छ।
यसैगरी सिन्धुलीको कमलामाई नगरपालिका–१४ तल्लो रानीबास क्षेत्रबाट करिब ६ किलोग्राम तौलको हात्तीको दाह्रा जस्तो देखिने एक थान आखेटोपहारसहित दुई जना सोमबार पक्राउ परेका छन्।






