काठमाडौं, अक्टोबर ३, २०२६ — काठमाडौंका विभिन्न स्थानबाट मोबाइल चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। उनीहरूबाट २५ थान चोरीका मोबाइल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ पर्नेमा काभ्रे घर भई हाल काठमाडौंको कलंकी बस्ने २४ वर्षीय सुरेश हुमागाईँ र दैलेखको महाबु गाउँपालिका–१ घर भई हाल काठमाडौंको चन्द्रागिरि बस्ने १९ वर्षीय विवेककुमार शर्मा रहेका छन्।
प्रहरीका अनुसार विभिन्न स्थानबाट मोबाइल चोरी भएको सूचनाका आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले बिहीबार राति न्युरोड गेटबाट हुमागाईँलाई पक्राउ गरेको थियो। उनीसँग चोरीको एक थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ।
हुमागाईँसँग सोधपुछ गर्ने क्रममा थप चोरीका मोबाइल आफ्ना साथी विवेकसँग रहेको बताएपछि प्रहरीले शर्माको खोजी थालेको थियो। त्यसपछि शर्मालाई काठमाडौंको सतुंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शर्मासँग विभिन्न कम्पनीका २४ थान मोबाइल फेला परेका थिए।






