न्युयोर्क, अमेरिका, सेप्टेम्बर २४, २०२६ — परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी विपद्लाई “हिमालयबाट सम्पूर्ण विश्वलाई आएको कडा चेतावनी” भन्दै नेपालको पुनःस्थापना र जलवायु उत्थानशीलताका लागि अन्तर्राष्ट्रिय सहयोग बढाउन आह्वान गरेका छन्।
संयुक्त राष्ट्रसंघको महासभाको साइडलाइनमा बुधबार न्युयोर्कमा आयोजित जी–७ विकासमन्त्रीहरूको बैठकलाई सम्बोधन गर्दै खनालले तापक्रम बढिरहेको पृथ्वीले केही घण्टामै दशकौँको विकास उपलब्धिलाई उल्ट्याउन सक्ने बताएका हुन्।
“विश्वव्यापी उत्सर्जनमा हाम्रो योगदान नगण्य भए पनि जलवायु परिवर्तनको असमान र कठोर प्रभाव हामीले निरन्तर भोगिरहेका छौँ,” उनले भने।
हालैको भोटेकोशी विपद् र त्यसबाट भएको ठूलो क्षतितर्फ विश्व समुदायको ध्यानाकर्षण गराउँदै खनालले नेपालको प्रभावकारी पुनःस्थापना तथा पुनर्निर्माणका लागि पाँच प्राथमिकता प्रस्तुत गरे। परराष्ट्र मन्त्रालयका अनुसार ती प्राथमिकतामा दीर्घकालीन साझेदारी, पहुँचयोग्य जलवायु वित्त, विपद् पूर्वतयारीमा लगानी, चुस्त बहुपक्षीय वित्तीय परिचालन र हिमालयलाई प्राथमिकता दिनुपर्ने विषय छन्।
दिगो पुनर्निर्माणका लागि अनुदान र सहुलियतपूर्ण वित्तीय सहयोगसहित समन्वित अन्तर्राष्ट्रिय प्रयास आवश्यक रहेको बताउँदै खनालले नेपालजस्ता जलवायु जोखिममा रहेका विकासशील देशका लागि उपलब्ध हुने लस एन्ड ड्यामेज फन्डसहितका वित्तीय स्रोतमा छिटो, सरल र प्रत्यक्ष पहुँच आवश्यक रहेको बताए।






