न्यूयोर्क, अमेरिका, सेप्टेम्बर २३, २०२६ — नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ। सम्बन्ध स्थापना गर्ने संयुक्त विज्ञप्तिमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र ग्रेनाडाका अर्थमन्त्री डेनिस कोर्नवालले हस्ताक्षर गरेका छन्।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा आयोजित संक्षिप्त समारोहमा उक्त संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरिएको हो।
हस्ताक्षर समारोहअघि खनाल र कोर्नवालबीच आपसी हितका विभिन्न विषयमा छलफल भएको थियो। भेटका क्रममा दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा प्रगति तीव्र बनाउन तथा जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्न सहकार्यको महत्वमा जोड दिइएको थियो।
दुवै मन्त्रीबीच पर्यटन, शिक्षा तथा आपसी हितका अन्य क्षेत्रमा अनुभव र राम्रा अभ्यास आदानप्रदान गर्ने सम्भावनाबारे पनि छलफल भएको थियो।
ग्रेनाडासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको संख्या १८६ पुगेको छ।






