न्युयोर्क, अमेरिका, सेप्टेम्बर २५, २०२६ — प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले जलवायु संकटलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई आग्रह गर्दै नेपालजस्ता मुलुकले हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गरे पनि त्यसको गम्भीर असर भोगिरहेको बताएका छन्।
नेपाली समयअनुसार शुक्रबार बिहान संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै शाहले हालैको बाढी तथा पहिरोले निम्त्याएको विनाशलाई विश्व समुदायका लागि चेतावनीका रूपमा प्रस्तुत गरे। उनले उक्त विनाशलाई ‘हिमालयको सुनामी’का रूपमा उल्लेख गर्दै नेपाल र समग्र हिमालय क्षेत्रमा बढ्दो जलवायु जोखिमतर्फ विश्वको ध्यानाकर्षण गराए।
शाहले विपद्का कारण मानिसहरूको मृत्यु हुनुका साथै घर, जीविकोपार्जनका साधन, पुल, सडक, विद्यालय तथा अन्य पूर्वाधारमा क्षति पुगेको बताए। जलवायु परिवर्तनलाई निरन्तर बेवास्ता गरिए मानव सभ्यताले अझ ठूलो मूल्य चुकाउनुपर्ने उनले चेतावनी दिए।
प्रधानमन्त्री शाहले विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा कम रहेको तर जलवायु संकटको ठूलो मूल्य नेपालले चुकाइरहेको बताए। उनले हिमनदी र हिउँ पग्लने, बाढी आउने तथा त्यसबाट ठूलो जनधनको क्षति हुने अवस्था नेपालले भोगिरहेको उल्लेख गरे।
जलवायु संकट सिर्जना गर्न नेपालको भूमिका न्यून भए पनि नेपाली समुदाय त्यसका असरबाट प्रभावित भइरहेको उनले बताए। जलवायु न्याय अन्तर्राष्ट्रिय दस्तावेजमा उल्लेख भएको सिद्धान्तमा मात्र सीमित नरही व्यवहारमै कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए।






