मेलबर्न, अस्ट्रेलिया, अक्टोबर ८, २०२६ — परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच बिहीबार मेलबर्नमा भेटवार्ता भएको छ । भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ ।
मन्त्री खनालको सचिवालयका अनुसार दुवै पक्षले नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने विषयमा जोड दिएका थिए ।
भेटवार्ताका क्रममा वङले नेपालमा हालै आएको बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति दुःख व्यक्त गर्दै विपद् प्रतिकार्य, प्रारम्भिक पुनर्लाभ र पुनर्निर्माणका प्रयासमा अस्ट्रेलिया नेपालको साथमा रहेको बताइन् ।
वङले बाढी तथा विपद् प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरिन् । उक्त रकम यसअघि आपत्कालीन प्रतिकार्यका लागि अस्ट्रेलियाले घोषणा गरेको ११ मिलियन अस्ट्रेलियन डलरमा थप हुनेछ । नयाँ सहयोग राहत तथा प्रारम्भिक पुनर्लाभका काममा केन्द्रित हुने जनाइएको छ ।
मन्त्री खनालले विपद्का समयमा अस्ट्रेलिया सरकार र अस्ट्रेलियाली जनताबाट प्राप्त मानवीय सहयोगप्रति आभार व्यक्त गरे । संकटका समयमा प्राप्त सहयोगले दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाएको उनले बताए ।






