सर्लाही, अक्टोबर १६, २०२६ — सर्लाहीको कविलासी नगरपालिका–२ पिपरियास्थित नवलपुर–चैनपुरा १३२ केभी प्रसारण लाइनको टावरमा चढेकी १७ वर्षीया युवतीको बिहीबार साँझ तीन घण्टापछि सकुशल उद्धार गरिएको छ।
बिहीबार साँझ करिब ४:३० बजे प्रसारण लाइनको ४५ नम्बर टावरमा चढेकी युवतीलाई राति करिब ८ बजे प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो।
कविलासी नगरपालिका–७ सिरसियाकी ती युवती टावरमा चढेपछि सम्भावित दुर्घटना रोक्न विद्युत् सेवा अवरुद्ध गरिएको थियो। त्यसका कारण सर्लाहीका आधा दर्जनभन्दा बढी स्थानीय तहमा विद्युत् सेवा प्रभावित भएको थियो।
प्रसारण लाइनका प्रशासन प्रमुख कुनाल चौधरीका अनुसार प्रहरीको संयुक्त टोलीले लामो प्रयासपछि युवतीलाई सकुशल उद्धार गरेको हो।






