काठमाडौं, सेप्टेम्बर २२, २०२६ — नेपाल टेलिकमले नेटवर्क कभरेज र सेवा गुणस्तर सुधार गर्ने उद्देश्यले अगस्ट महिनामा ११ जिल्लाका १३ स्थानमा नयाँ २जी र ४जी मोबाइल साइट सञ्चालनमा ल्याएको कम्पनीका प्रवक्ता डा. कमल लामिछानेले बताएका छन्।
बागमती प्रदेशमा ललितपुर महानगरपालिका–३ को कार्यालय र चौँडाडामा नयाँ मोबाइल साइट सञ्चालनमा ल्याइएको छ। चितवनको मोहनपुर, नवलपुरको पोखरीडाँडा र गण्डकी प्रदेशअन्तर्गत लमजुङको मध्यनेपालमा पनि नयाँ साइट सञ्चालनमा ल्याइएको छ।
लुम्बिनी प्रदेशमा कपिलवस्तुको धर्मपानी तथा पाल्पाको रामपुर र होङ्सीमा नयाँ साइट सञ्चालनमा आएका छन्। कर्णाली प्रदेशमा जुम्लाको कनकासुन्दरी र सुर्खेत–जुम्ला सडकखण्डमा नयाँ टावर जडान गरिएको छ।
सुदूरपश्चिम प्रदेशमा पनि बाजुराको बडिमालिका, डडेलधुराको गन्यापधुरा र दार्चुलाको रिठाचौपाटामा नयाँ मोबाइल साइट सञ्चालनमा ल्याइएको छ।
नेपाल टेलिकमका अनुसार नयाँ साइट सञ्चालनमा आएपछि सम्बन्धित क्षेत्रमा मोबाइल तथा डेटा कनेक्टिभिटी विस्तार हुनुका साथै समग्र सेवा गुणस्तरमा सुधार हुनेछ। दूरसञ्चार सेवा उपलब्ध नभएका वा थप कभरेज आवश्यक रहेका क्षेत्रमा नेटवर्क विस्तारलाई निरन्तरता दिने कम्पनीले जनाएको छ।






