बाजुरा, २४ अगस्ट २०२६ — नेपाल टेलिकमले धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बाजुराको बडिमालिका क्षेत्रमा फोरजी मोबाइल तथा इन्टरनेट सेवा विस्तार गरेको छ। सेवा सञ्चालनमा आएसँगै सोमबारदेखि उच्च हिमाली क्षेत्रमा सञ्चार सुविधा उपलब्ध भएको छ।
सञ्चार सेवा उपलब्ध भएपछि स्थानीय बासिन्दा, तीर्थयात्री, पर्यटक तथा उक्त क्षेत्रमा कार्यरत विभिन्न सरकारी र गैरसरकारी संस्थाहरू लाभान्वित हुने भएका छन्। यसअघि बडिमालिका क्षेत्रमा भरपर्दो सञ्चार सेवाको पहुँच थिएन।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भर्चुअल माध्यमबाट सेवाको उद्घाटन गर्दै भौगोलिक रूपमा विकट क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आधारभूत सञ्चार सेवाबाट वञ्चित हुन नदिने सरकारको प्रतिबद्धता रहेको बताए।
उनले सेवा विस्तारका लागि निरन्तर खटिएका नेपाल टेलिकमका कर्मचारी, उपकरण ढुवानीमा हेलिकोप्टरमार्फत सहयोग गरेको नेपाली सेना तथा बडिमालिका क्षेत्रका स्थानीय जनप्रतिनिधिलाई समन्वय र सहयोगका लागि धन्यवाद दिए।
मन्त्री तिमिल्सिनाले चालु आर्थिक वर्षलाई दूरसञ्चार क्षेत्रमा अभूतपूर्व सुधार तथा डिजिटल रूपान्तरणको वर्षका रूपमा अघि बढाउने सरकारको योजना रहेको बताए। भौगोलिक रूपमा विकट क्षेत्रमा बसोबास गरेको कारण मात्रै कुनै नागरिक सञ्चार सेवाबाट वञ्चित हुन नहुने उनको भनाइ थियो।






