काठमाडौं, ८ सेप्टेम्बर २०२६ — रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल टेलिकमका कर्मचारीहरूले २ करोड २ लाख २६ हजार ६६ रुपैयाँ सहयोग गरेका छन्।
कर्मचारीहरूको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम हस्तान्तरण गरेकी हुन्।
टेलिकमका अनुसार बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले विभिन्न तहमा कार्यरत कर्मचारीहरूको तलबबाट तहगत योगदानका आधारमा रकम कट्टा गरी कोषमा जम्मा गरिएको हो।
कम्पनीले कर्मचारीहरूको यो सहयोगबाट विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका कार्यमा केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरेको जनाएको छ।






