काठमाडौं, १८ अगस्ट २०२६ — नेपालमा बिक्री हुने बीवाईडीका सवारीसाधनमा एनसेलको इन्टरनेट अफ थिङ्स (आईओटी) सिम जडान गरी कनेक्टेड सवारी सेवा उपलब्ध गराउने उद्देश्यले एनसेल र बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकबीच साझेदारी भएको छ।
सम्झौताअनुसार नेपालमा बिक्री हुने प्रत्येक नयाँ बीवाईडी सवारीसाधनमा एनसेलको आईओटी सिम जडान गरिनेछ। यसबाट ग्राहकले अतिरिक्त उपकरण, वाइफाइ हटस्पट वा मोबाइल फोन जोड्नुपर्ने आवश्यकता बिना नै सवारीसाधनको प्रणालीबाट अनलाइन सेवा तथा डिजिटल मनोरञ्जन प्रयोग गर्न सक्नेछन्।
सवारीसाधनको प्रणालीमार्फत युट्युब, स्पोटिफाइ र कराओकेलगायत मनोरञ्जन सेवा तथा बीवाईडीको एप प्रणाली प्रत्यक्ष रूपमा प्रयोग गर्न सकिनेछ।
एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ दत्तले आईओटी सेवासम्बन्धी साझेदारीले बीवाईडीका सवारीसाधनमा स्मार्ट कनेक्टिभिटी, मनोरञ्जन, सुरक्षा तथा बुद्धिमत्तामा आधारित गतिशीलताका सुविधा उपलब्ध गराउने बताए।
उनका अनुसार बीवाईडीको एप तथा लोकप्रिय मनोरञ्जन सेवासँग सवारीसाधनलाई प्रत्यक्ष जोड्न सकिने भएकाले बाह्य हटस्पट वा मोबाइल फोनको डेटा प्रयोगमा निर्भर हुनुपर्ने आवश्यकता कम हुनेछ। स्थानीय मोबाइल सञ्जालसँग सवारीसाधन जोडिँदा सडकमा यात्रा गर्दा वा ट्राफिक जाममा पर्दासमेत नेभिगेसन सेवा भरपर्दो बनाउन सहयोग पुग्ने उनले बताए।






