काठमाडौं, अक्टोबर २, २०२६ — सरकारले विद्युतीय सवारीसाधन र सफा टेम्पोमा प्रयोग हुने डीप-साइकल लिड-एसिड तथा लिथियम-आयन ब्याट्रीमा दिइँदै आएको कर छुटलाई नियमन गर्न कार्यविधि तयार गरिरहेको छ।
वन तथा वातावरण मन्त्रालयले डीप-साइकल लिड-एसिड ब्याट्रीमा शून्य दरको मूल्य अभिवृद्धि कर (भ्याट) सिफारिस तथा डीप-साइकल लिड-एसिड र लिथियम-आयन ब्याट्रीमा भन्सार महसुल छुटका लागि सिफारिससम्बन्धी दुई छुट्टाछुट्टै कार्यविधिको मस्यौदा तयार गरेको छ।
प्रस्तावित दस्तावेजको नाम “डीप-साइकल लिड-एसिड ब्याट्रीमा शून्य दरको भ्याटका लागि सिफारिस गर्दा अपनाउनुपर्ने कार्यविधि, २०८३” र “डीप-साइकल लिड-एसिड तथा लिथियम-आयन ब्याट्रीमा भन्सार महसुल छुटका लागि सिफारिस गर्दा अपनाउनुपर्ने कार्यविधि, २०८३” रहेको छ।
सरकारले हाल वार्षिक बजेटमार्फत यस्ता ब्याट्रीको आयातमा कर छुट दिँदै आएको छ। प्रस्तावित कार्यविधिले विद्यमान कर छुट कार्यान्वयन गर्ने र त्यसका लागि सिफारिस जारी गर्ने प्रक्रियालाई व्यवस्थित गर्ने उद्देश्य राखेको छ।
हाल विद्युतीय रिक्सा र सफा टेम्पोमा प्रयोग हुने ब्याट्रीमा यस्तो छुट उपलब्ध छ। कर छुटको दुरुपयोग रोक्न तथा सिफारिस प्रक्रिया व्यवस्थित बनाउन मन्त्रालयले कार्यविधि प्रस्ताव गरेको हो।






