दूरसञ्चार पूर्वाधारमा हुने पुँजीगत लगानी पनि कमजोर भएको छ। उपलब्ध उद्योगगत तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा पुँजीगत खर्चको आम्दानीसँगको अनुपात ६ प्रतिशतमा झरेको थियो। एनसेलका अनुसार आम्दानी र नाफामा आएको दबाबले नयाँ प्रविधिमा आवश्यक लगानी जुटाउन चुनौती थपेको छ।
एनसेलले आगामी पाँच वर्षमा नेपालमा ५जी प्रविधि विस्तार गर्न करिब ४५ अर्ब रुपैयाँ थप लगानी आवश्यक पर्ने अनुमान गरेको छ। यस्तो लगानीका लागि पूर्वानुमानयोग्य नियामकीय व्यवस्था, दिगो महसुल संरचना तथा दीर्घकालीन पूर्वाधार लगानीलाई समर्थन गर्ने व्यावसायिक वातावरण आवश्यक रहेको कम्पनीको भनाइ छ।
दूरसञ्चार क्षेत्रका लागि दूरसञ्चार ऐनलाई समयअनुकूल बनाउने, फ्रिक्वेन्सी शुल्क निर्धारणलाई थप पूर्वानुमानयोग्य बनाउने तथा लगानी आवश्यकता र मुद्रास्फीतिअनुसार महसुल पुनरावलोकन गर्ने स्पष्ट व्यवस्था गर्नुपर्ने माग पनि एनसेलले अघि सारेको छ।
यसरी एनसेलले २१ वर्षको यात्रा पूरा गर्दा ग्राहक र नेटवर्क विस्तारमा उल्लेख्य वृद्धि गरेको छ भने समग्र दूरसञ्चार क्षेत्र घट्दो आम्दानी, कमजोर पुँजीगत खर्च र नयाँ प्रविधिमा आवश्यक लगानीको चुनौतीबाट गुज्रिरहेको छ।
दूरसञ्चार पूर्वाधारमा निरन्तर लगानी कायम राख्न र नेपालको डिजिटल अर्थतन्त्रको विकासलाई समर्थन गर्न नियामकीय वातावरणलाई थप पूर्वानुमानयोग्य बनाउनुपर्नेमा एनसेलले जोड दिएको छ।