सिड्नी, अस्ट्रेलिया, ३१ अगस्ट २०२६ — करिब दुई दशकको अवधिमा सिड्नीका रेलमा चार महिलामाथि यौन अपराध गरेको स्वीकार गरेका ४९ वर्षीय नेपाली नागरिक दिनेश राज उप्रेतीलाई जेल सजायको सट्टा तीन वर्षको ‘इन्टेन्सिभ करेक्सन्स अर्डर’ र ३५० घण्टा सामुदायिक सेवा गर्ने सजाय सुनाइएको छ।
विवाहित तथा सन्तान भएका उप्रेतीले न्यु साउथ वेल्स (NSW) सरकारअन्तर्गत काम गरेका थिए। उनले अश्लील आक्रमणसम्बन्धी दुई तथा सहमतिविना यौन स्पर्शसम्बन्धी दुई गरी चारवटा अभियोगमा दोष स्वीकार गरेका थिए।
अदालतमा प्रस्तुत विवरणअनुसार उनका अपराध नोभेम्बर २००६ देखि मार्च २०२५ सम्म भएका थिए।
नोभेम्बर २००६ मा उप्रेतीले सिड्नीको सिडेनह्याम स्टेसनबाट व्यस्त समयमा रेल चढेपछि ३१ वर्षीया महिलाको शरीरमा आफूलाई जोडेर रगडेको अदालतमा बताइएको थियो। महिलाले आफ्नो कपडामा भिजेको पदार्थ फेला पारेपछि प्रहरीमा उजुरी गरेकी थिइन्। प्रहरीले उनको कपडामा भेटिएको वीर्यबाट डीएनए नमुना संकलन गरेको थियो।
अक्टोबर २००७ मा उनले सेन्ट्रल स्टेसनबाट अत्यधिक भीड भएको रेल चढेका थिए। अन्य यात्रुले ठाउँ नभएको संकेत गरे पनि उनी रेलभित्र प्रवेश गरी २५ वर्षीया महिलासँग शरीर जोडेर बसेका थिए। ती महिला आफूलाई पर सार्न खोज्दा पनि उप्रेतीले पछ्याउँदै उनीसँग रगडिन जारी राखेको अदालतमा बताइएको थियो।






