वासिङ्टन, अमेरिका, २७ अगस्ट २०२६ — अमेरिकाले नेपालको भोटेकोसी नदी क्षेत्रमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार तथा राहत कार्यमा सहयोग गर्न ५ लाख अमेरिकी डलर तत्काल मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले बाढीबाट ज्यान गुमाउनेहरू तथा प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै तत्काल आवश्यक राहत तथा सहयोगका लागि उक्त सहायता परिचालन गरिने जनाएको छ।
अमेरिकी सरकारको विश्वव्यापी साझेदार क्याथोलिक रिलिफ सर्भिसेज (सीआरएस) मार्फत उपलब्ध गराइने उक्त रकमबाट बाढीबाट अत्यधिक प्रभावित समुदायका लागि आपत्कालीन आश्रय, आवश्यक राहत सामग्री तथा खानेपानी, सरसफाइ र स्वच्छता (WASH) सम्बन्धी सहायता उपलब्ध गराइनेछ।
जमिनस्तरको सहयोगलाई थप प्रभावकारी बनाउन अमेरिकी विदेश मन्त्रालयले स्थानीय अधिकारीसँग समन्वय गरी तत्काल राहत कार्यमा सहयोग गर्न विपद् प्रतिकार्यसम्बन्धी एक सल्लाहकारसमेत प्रभावित क्षेत्रमा पठाउने भएको छ।
यसैबीच, अमेरिकी दूतावास काठमाडौंले प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको अवस्था पत्ता लगाउन र आवश्यक सहयोग उपलब्ध गराउन नेपाली सुरक्षा निकाय तथा स्थानीय अधिकारीसँग समन्वय गरिरहेको जनाएको छ।






