काठमाडौं, ३० अगस्ट २०२६ — रसुवामा भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि अत्यावश्यक राहत सामग्री बोकेका चिनियाँ वायुसेनाका दुई वाई–२० सैन्य कार्गो विमान आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्।
ती दुई विमानले बाढी प्रभावित समुदायका लागि १३ हजार २०० थान अत्यावश्यक राहत सामग्री ल्याएका छन्।
यसैबीच, चीनको सिचुआन प्रान्तस्थित छेन्दुबाट अर्को राहत विमान पनि नेपालतर्फ प्रस्थान गरेको छ। यी उडान नेपालका लागि चीनले पठाएको विपद् राहत सामग्रीको पहिलो चरणअन्तर्गतका हुन्।
बाढीपछि राहत तथा पुनःस्थापनाका लागि चीनले २ मिलियन अमेरिकी डलर नगद सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।
चीनका विशेषज्ञ उद्धार टोली नेपालमा जारी खोज तथा उद्धार अभियानमा समेत सहभागी छन्। उनीहरूले नेपाली सुरक्षाकर्मी र भारतीय विशेषज्ञसँग मिलेर अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाका डुबानमा परेका सुरुङभित्र फसेका कामदारको उद्धारका लागि काम गरिरहेका छन्।






