काठमाडौं, २ सेप्टेम्बर २०२६ — बलिउड अभिनेता तथा समाजसेवी सोनु सूद बाढीबाट प्रभावित समुदायलाई राहत सहयोग गर्न नेपाल आएका छन्।
सूद आफ्नो संस्था सूद च्यारिटी फाउन्डेसनको टोलीसँग नेपाल आएका हुन्। उनले बाढीपीडितका लागि भारतबाट खाद्यान्न, कम्बल तथा अन्य आवश्यक राहत सामग्री ल्याएको बताएका छन्।
नेपाल आइपुगेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सूदले बाढीपीडितलाई भेट्न र आवश्यक सहयोग पुर्याउन आफूहरू आएको बताए।
“हामी यहाँ बाढीपीडित सबैलाई भेट्न आएका छौँ। हामीसँग भारतबाट धेरै राहत सामग्री आएको छ। आवश्यकतामा रहेका मानिसहरूको साथमा रहन र उनीहरूको जीवन पुनः सामान्य बनाउन सहयोग गर्ने प्रयास गर्नेछौँ,” उनले भने।
उनले प्रभावित क्षेत्रका मानिसलाई थप के आवश्यक छ भन्नेबारे जानकारी लिइरहेको र आवश्यक सामग्री भारतबाट पठाउने प्रयास भइरहेको बताए।






