काठमाडौं, ३० अगस्ट २०२६ — नेपाल तथा तिब्बत सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढीपछि जारी उद्धार तथा राहत अभियानलाई सहयोग गर्न स्याटेलाइट इन्टरनेट प्रदायक स्टारलिंकले सञ्चार किट उपलब्ध गराउनुका साथै निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने प्रस्ताव गरेको छ।
एक्समा जारी गरेको विज्ञप्तिमा कम्पनीले विपद्बाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै स्थानीय अधिकारीबाट अनुमति प्राप्त हुनासाथ उपकरण पठाउन तयार रहेको जनाएको छ।
“नेपाल सरकार र मानवीय साझेदारहरूलाई सहयोग गर्न अनुमति प्राप्त हुनेबित्तिकै स्टारलिंक किट पठाउन र निःशुल्क सेवा उपलब्ध गराउन तयार छ,” कम्पनीले जनाएको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा सडक, पुल तथा स्थानीय दूरसञ्चार संरचनामा ठूलो क्षति पुगेको छ। यसले खोज तथा उद्धार र राहत अभियान सञ्चालनमा सञ्चारसम्बन्धी चुनौती थपिएको छ।
स्टारलिंकका अनुसार उसका पोर्टेबल स्याटेलाइट इन्टरनेट किटलाई विद्युत् स्रोत र आकाशतर्फ अवरोधरहित दृश्य आवश्यक पर्छ। यस्तो अवस्थामा केही मिनेटमै उच्च गतिको तथा कम विलम्बता भएको इन्टरनेट कनेक्सन उपलब्ध गराउन सकिने कम्पनीले जनाएको छ।






