काठमाडौं, १ सेप्टेम्बर २०२६ — भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्तिको खोज तथा उद्धार, राहत वितरण र पुनःस्थापनासम्बन्धी विषयमा छलफल गर्न आज दिउँसो २ बजे सर्वदलीय बैठक बस्ने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले राष्ट्रिय समाचार समिति (रासस) लाई दिएको जानकारीअनुसार बैठक रास्वपाको संसदीय दलको कार्यालयमा हुनेछ।
बैठकमा राजनीतिक दलका प्रतिनिधिहरूले बाढीका कारण भएको व्यापक जनधनको क्षतिबारे छलफल गर्नेछन्। प्रभावित व्यक्तिको उद्धार, सम्पर्कविहीनहरूको खोजी तथा जारी राहत कार्यका विषय पनि बैठकका प्रमुख एजेन्डा रहने जनाइएको छ।
बाढी प्रभावित समुदायमा राहत वितरण र दीर्घकालीन पुनःस्थापनाका लागि आवश्यक योजनाबारे समेत बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।
विनाशकारी बाढीले विभिन्न जिल्लामा बस्ती, सडक, पुल तथा अन्य सार्वजनिक र निजी संरचनामा ठूलो क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी रहेको छ।






