जोङ्लेइ, दक्षिण सुडान, २४ अगस्ट २०२६ — दक्षिण सुडानको जोङ्लेइ राज्यमा संयुक्त राष्ट्रसंघीय गस्ती टोलीमाथि अज्ञात सशस्त्र समूहले घात लगाएर आक्रमण गर्दा २ जना शान्ति सैनिकको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।
संयुक्त राष्ट्रसंघीय दक्षिण सुडान मिसन (युनमिस) का अनुसार सोमबार गस्ती टोली पाजुटतर्फ गइरहेका बेला आक्रमण भएको हो। हालै सरकार र विपक्षी पक्षबीच द्वन्द्वको केन्द्र बनेको क्षेत्रमा भएको यो आक्रमण युद्ध अपराधको श्रेणीमा पर्न सक्ने युनमिसले जनाएको छ।
घाइते हुनेमा ३ जना शान्ति सैनिक, दक्षिण सुडान राष्ट्रिय प्रहरी सेवाका २ जना कर्मचारी र २ जना नागरिक कर्मचारी रहेका छन्।
युनमिसले घटनाको कडा निन्दा गर्दै प्रभावित क्षेत्रमा ‘क्विक रियाक्सन फोर्स’ परिचालन गरेको जनाएको छ।
संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधि तथा युनमिस प्रमुख अनिता किकी ग्बेहोले शान्ति स्थापनामा योगदान गरिरहेका युनमिसका कर्मचारीमाथि भएको घातक आक्रमण अस्वीकार्य रहेको बताएकी छन्। उनले मृत्यु भएका शान्ति सैनिकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।






