गोरखा, अक्टोबर १५, २०२६ — बूढीगण्डकी क्षेत्रमा बाढी प्रभावित १ हजार ४४ जनालाई आइतबारदेखि बिहीबारसम्म हेलिकोप्टरमार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताएका छन्। उद्धार गरिएकामध्ये ७० जना विदेशी नागरिक छन्।
बाढीले उत्तरी गोरखा जाने पदमार्ग र पुलमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा रहेका नागरिक फसेका थिए। उनीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरिएको शर्माले बताए।
उनका अनुसार बाढी गएको पहिलो दिन आइतबार ९६ जनाको उद्धार गरिएको थियो। सोमबार ३२१ र मंगलबार १८६ जनाको उद्धार भयो। बुधबार थप ४४१ जनालाई उद्धार गरिएको शर्माले जानकारी दिए।
उद्धारसँगै राहत वितरणलाई पनि तीव्र पारिएको छ। सरकार र विभिन्न संघसंस्थाको सहयोगमा प्रभावित क्षेत्रमा खाद्यान्न, टेन्ट, म्याट, सिरानी, सिरक, त्रिपाल, सौर्य उपकरण र जेनेरेटरलगायत सामग्री वितरण भइरहेको शर्माले बताए।
बाढीले सडक सञ्जाल र पदमार्गमा क्षति पुर्याएपछि उद्धार तथा राहत वितरणका लागि हेलिकोप्टर प्रयोग गर्नुपरेको उनले बताए।






