मकवानपुर, १८ अगस्ट २०२६ — मंगलबार बिहान मकवानपुरको भीमफेदीमा जिप दुर्घटनामा परी गम्भीर घाइते भएकी ४९ वर्षीया लक्ष्मी बडूको उपचारका क्रममा मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएकी बडूको काठमाडौंको छाउनीस्थित श्री वीरेन्द्र अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव अस्पतालमै राखिएको छ।
बिहान करिब ७ बजे काठमाडौंमाबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ५० देखि ६० मिटर तल खसेर दुर्घटनामा परेको थियो।
दुर्घटनामा घाइतेमध्ये उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश गोर्कण दंगीसहित चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौंस्थित श्री वीरेन्द्र अस्पताल लगिएको थियो।
दुर्घटनाको सूचना पाएलगत्तै भीमफेदीस्थित इलाका प्रहरी कार्यालयका ट्राफिक प्रहरीसहित सात जनाको टोली घटनास्थलमा पुगेको थियो। टोलीले घटनास्थलमा उद्धार तथा प्रारम्भिक व्यवस्थापनको काम गरेको थियो।






