मकवानपुर, १८ अगस्ट २०२६ — काठमाडौं–वीरगञ्ज सडकखण्डअन्तर्गत मकवानपुरमा स्कर्पियो सडकबाट करिब ५०–६० मिटर तल खस्दा उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश गोर्कण दंगीसहित ६ जना घाइते भएका छन्।
मंगलबार बिहान भीमफेदी गाउँपालिका–६ स्थित जुरीखेलमा दुर्घटना भएको हो। प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कर्पियो काठमाडौंमाबाट वीरगञ्जतर्फ जाँदै गर्दा सडकबाट तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा तुलसीपुर–९, दाङका ५७ वर्षीय न्यायाधीश गोर्कण दंगी, राप्ती गाउँपालिका–८, दाङका ३२ वर्षीय चालक छुनिलाल चौधरी, दशरथचन्द नगरपालिका–७, बैतडीका ५१ वर्षीय तारादत्त बडू, उनकी ४९ वर्षीया श्रीमती लक्ष्मी बडू, २५ वर्षीय छोरा रितेन्द्र बडू र ३१ वर्षीया बहिनी रीता बडू घाइते भएका छन्।
प्रहरीका अनुसार लक्ष्मी बडूको अवस्था गम्भीर छ भने अन्य पाँच जना घाइतेको अवस्था मध्यम रहेको छ।
भीमफेदी अस्पतालमा प्रारम्भिक उपचारपछि घाइतेहरूलाई थप उपचारका लागि अन्य अस्पतालमा पठाउने तयारी गरिएको थियो। न्यायाधीश दंगीसहित चार जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।






