गुल्मी, सेप्टेम्बर २८, २०२६ — गुल्मीको रेसुङ्गा नगरपालिका–१४ खोलाखेतस्थित छल्दीपनाहा खोलाले माछा मारिरहेकी एक महिलालाई बगाउँदा उनी बेपत्ता भएकी छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार स्थानीय ५६ वर्षीया तुल्सी सूर्यवंशी पतिसँगै खोलामा माछा मारिरहेका बेला खोलाले उनलाई बगाएको हो।
स्थानीयले खोजी गर्दा फेला पार्न नसकेपछि प्रहरीलाई खबर गरेका थिए।
घटनास्थलमा इलाका प्रहरी कार्यालय इन्द्रेगौडाबाट प्रहरी टोली खटिएर खोजी गरिरहेको छ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय गुल्मीबाट इन्स्पेक्टर सुदीप नेपालीको कमान्डमा थप १० जनाको प्रहरी टोली पनि घटनास्थलतर्फ पठाइएको छ।






