गुल्मी, सेप्टेम्बर १४, २०२६ — गुल्मीमा निस्ती खोलाले बगाएर बेपत्ता भएकी २९ वर्षीया महिला मृत फेला परेकी छन्।
मुसिकोट नगरपालिका–१ इन्द्रेगौंडा घर भएकी कल्पना पुन माइतीघर इस्मा गाउँपालिका–४ हुल जाने क्रममा मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाको सीमामा पर्ने निस्ती खोला तर्ने क्रममा बगेर बेपत्ता भएकी थिइन्।
आइतबार साँझ खोलाले बगाएको जानकारी प्राप्त भएपछि प्रहरीले स्थानीयवासीसँगको सहकार्यमा खोजी सुरु गरेको थियो। खोजीका क्रममा पुनलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
घटनापछि इस्मा प्रहरी चौकी र पौंदीअमराईबाट प्रहरी टोली परिचालन गरिएको थियो। खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको खबर प्राप्त भएपछि प्रहरी खोजीमा जुटेको थियो।
पुनको शव पोस्टमार्टमका लागि गुल्मी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।






