रुकुम पश्चिम, सेप्टेम्बर १३, २०२६ — रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ स्थित देउताखोलामा जिप सडकबाट करिब ५० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–१ रुघाका जिप चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ की करिब १६ वर्षीया प्रेमकला पुन रहेका छन्।
लु १ च ६०२९ नम्बरको जिप सानीभेरी–६ को कोटगाउँबाट सिम्ली आउँदै गर्दा देउताखोलामा सडकबाट तल खसेर दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार घाइतेमध्ये दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको छ। थप दुई घाइतेलाई पनि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि सुर्खेत लैजाने तयारी भइरहेको थियो।
अन्य घाइतेको उपचार सिम्लीस्थित स्थानीय नगर अस्पतालमा भइरहेको छ।






