काठमाडौं, सेप्टेम्बर ६, २०२६ — पर्यटकीय क्षेत्र ठमेलको सडकमा एक युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ती युवकलाई शनिबार नियन्त्रणमा लिएको हो। उनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाउने तयारी गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक दिलीप घिमिरेले आरोपीमाथि थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताएका छन्।
केही दिनअघि ठमेलमा हिँडिरहेका बेला एक अपरिचित युवकले आफ्नो संवेदनशील अङ्गमा छोएर दुर्व्यवहार गरेको भन्दै पीडित युवतीले ‘मुन्स वर्ल्ड’ नामक इन्स्टाग्राम ह्यान्डलमार्फत भिडिओ सार्वजनिक गरेकी थिइन्।
सीसीटिभी फुटेजसमेत समावेश गरिएको उक्त सामग्रीमा कथित घटनापछि युवती र युवकबीच भएको विवाद तथा युवकले आफ्नो गल्ती अस्वीकार गरेको दृश्य देखिन्छ।






