काठमाडौं, ३१ अगस्ट २०२६ — काठमाडौंको कीर्तिपुरमा सडकमा हिँडिरहेका महिलालाई पछ्याउँदै दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बझाङको केदारस्युँ गाउँपालिकाका २२ वर्षीय सत्यराज खत्री, हाल कीर्तिपुर बस्दै आएका; कञ्चनपुरका २२ वर्षीय ललित दमाई; र कञ्चनपुरको कृष्णपुर–३ का २१ वर्षीय अशोक भण्डारी रहेका छन्। भण्डारी पनि हाल कीर्तिपुरमा बस्दै आएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार भदौ १२ गते साँझ कीर्तिपुरको भजंगल क्षेत्रमा उनीहरूले सडकमा हिँडिरहेका महिलालाई पछ्याउँदै फोन नम्बर माग्नुका साथै अश्लील तथा आपत्तिजनक भाषा प्रयोग गरेका थिए।
उनीहरू सुदूरपश्चिम प्रदेश–००४ प ८७८ नम्बरको मोटरसाइकलमा सवार रहेको प्रहरीले जनाएको छ।
पीडित महिलाहरूले उनीहरूको गतिविधि मोबाइलमा भिडियो रेकर्ड गरी सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि घटनाबारे प्रहरीको ध्यानाकर्षण भएको थियो। त्यसपछि प्रहरीले भिडियोसहितका विवरणका आधारमा घटनाको अनुसन्धान अघि बढाएको थियो।






